यु — १९ एसिया कपमा नेपालको लगातार दोस्रो हार भएको छ । आज भएको खेलमा नेपाल बङगलादेशसँग ६ विकेटले पराजित भएको हो ।
नेपालले प्रस्तुत गरेको २६२ रनको लक्ष्य बंगलादेशले ४९-२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।बंगलादेशका लागि अकबर अलीले नटआउट रहँदै ९८ रन बनाएर टोलीलाई जीत दिलाए । उनले ४२ रन बनाएर नटआउट रहेका सामिन होसेनसँग शतकीय साझेदारी गरेपछि बंगलादेश विजयी बनेको हो ।त्यस्तै, तहिद हृदोयले ६० तथा मोहमदुल हसन जोयले ४० रनको योगदान दिए ।नेपालका लागि कमलसिंह ऐरीले २ तथा रसिद खान र हरिबहादुर चौहानले १–१ विकेट लिए ।यसअघि, पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको थियो ।
श्रीलङ्काको पी सारा मैदानमा टस हारेर नेपालले पहिलो ब्याटिङ गरेको थियो ।नेपालका लागि शरार्फले १११ बलमा सर्वाधिक ८१ रनको योगदान दिए । उनले यस क्रममा ८ चौका र १ छक्का हिर्काए ।उनले ओपनर रित गौतमसँग मिलेर पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिए । गौतमले तीन चौका र एक छक्का हिर्काउँदै ३२ रन बनाए ।त्यस्तै, सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ३७ बलमा ५६ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्याए । जोराले ३ चौका र समान छक्का हिर्काए ।
कुशल मल्लले २८ तथा भीम सार्कीले २१ रनको योगदान दिए ।बंगलादेशका लागि तन्जिम हसन र मोहमद साहिन अलोमले २–२ विकेट लिए ।प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो ।