बायर्न म्युनिखले रोटाच एगर्नलाई २३-० गोलले पराजित गरेपछि फुटवल जगतनै चकित

काठमाण्डु टुडे २०७६ साउन २५ गते १२:३३ मा प्रकाशित

एजेन्सी, जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल निकै चर्चित बन्न पुग्यो।
उक्त खेलमा बायर्न म्युनिखले अर्को जर्मन क्लब रोटाच एगर्नलाई २३-० गोलको विशाल अन्तरले हराएका कारण उक्त खेलको चर्चा चुलिएको हो। बायर्न म्युनिख जर्मनीको घरेलु लिग च्याम्पियन क्लब हो।
यसै महिना सुरु हुने बुन्डेस लिगाको तयारीका क्रममा उक्त मैत्रीपूर्ण खेल खेलिएको थियो। जर्मनीको घरेलु लिग अगस्ट १७ देखि सुरु हुँदैछ। साविक विजेता बायर्न म्युनिखले सोही दिन आफ्नो पहिलो खेल हेर्था बर्लिनसँग खेल्दैछ। मैत्रीपूर्ण खेलको प्रारम्भदेखि नै बायर्नले रोटाच एगर्नलाई दबाबमा राखेको थियो।
खेल सुरु भएको छैटौं मिनेटदेखि नै बायर्नले विपक्षीविरुद्घ गोल वर्षा सुरु गरेको थियो। बायर्नका चार खेलाडीले ह्याट्रिक गर्ने मौका पाए। कोरेन्टिन टोलिसो एक्लैले चार गोल गरे। उनले ३८औं, ४०औं, ४१औं र ४२औं मिनेटमा गोल गरे। रोबर्ट लेवान्डोवस्की, थोमस मुल्लर र क्वासी ओकिरेले पनि तीन(तीन गोल थपे।
लेवान्डोवस्कीले नवौं, १६औं र २९औं मिनेटमा गोल गरेका थिए। मुल्लरले भने ४९औं, ६१औं र ८८औं मिनेटमा गोल गरे। ओकिरेले ५५औं, ७६औं र ८२औं मिनेटमा गोल गरेका थिए। यी तीन खेलाडीका अतिरिक्त अन्य खेलाडीले पनि गोल थप्ने पालो पाए। रेनाटो सान्चेज र क्वासी ओकिरेले दुई/दुई गोल थपे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us