काठमाण्डु, ११ साउन– कप्तान पारस खड्का ब्याटिङमा चम्किएपछि आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट प्रतियोगिताको तेश्रो खेलमा कुवेत नेपालसँग सात विकेटले पराजित भएको छ ।
कुवेतले नेपाललाई दिएको १ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा पारसले ४२ बलमा ११ चौका र एक टक्काको मद्दतमा ६८ रन जोडे । पारसको विस्फोटक व्याटिङको मद्धतमा नेपालले कुवेतले दिएको लक्ष्य १५. ५ ओभरमा २५ बल बाँकी छँदै भेट्टायो । पारसपछि शरद भेष्वाकरले नेपालका लागि नट आउट ३० बलमा ४ चौका र एक छक्का हान्दै ३८ रन जोडे ।
त्यसअघि टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन जोड्यो । कुवेतका लागि कप्तान मुहमद कासिफले सर्वाधिक ४९ रन बनाए । उनले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । कुवेतका लागि अदनान इद्रेसले २५ र मोहमद असलामले २३ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले समान ३÷३ र करन केसीले दुई र अविनास बोहराले १ विकेट लिए । नेपाल पाँच देश सहभागी प्रतियोगिताको पहिलो खेलमा कतारसँग चार विकेटले पराजित भएको थियो । प्रतियोगितामा छनौट हुन अब नेपाल सबै खेल जित्नैपर्ने दबाबमा छ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।