
संखुवासभा , २९ असार- चार दिन अघिदेखि परेको अविरल वर्षाका कारण चैनपुर नगरपालिका वडा नम्बर ४ का चार घर उच्च जोखिममा परेका छन् । पहिरोको जोखिममा लिलाबहादुर कार्की, वर्तबहादुर राई , फुर्वा शेर्पा र पदमबहादुर राईका घर पहिरोको चपेटामा परेका छन् । ४ घरमध्ये पदमबहादुर राईको एक पक्की घर रहेको छ । पहिरोले घर तान्न लागेपछि नेपाल रेडक्रस उपशाखा चैनपुरले पाल वितरण गरेको छ । पहिरो गएको ठाँउमा थप क्षति हुन नदिन पाल विच्छाएको रेडक्रसकर्मी टेकबहादुर श्रेष्ठले वताए ।
त्रिपालले छोपेर मात्र घरहरु जोगाउन नसकिने हुँदा पहिरोको जोखिममा रहेका घरहरुलाई संरक्षणको लागि चैनपुर नगरपालिकाले पहल गर्नु पर्ने नेपाली काँग्रेका नेता कुमारबाबु अधिकारीले बताए । यसै गरी नेकपा जिल्ला कमिटि सदस्य दलकुमार तामङले दीर्घकालीन सोचका साथ वैज्ञानीक ढंगले विकासका संरचना तयार नपारिएका कारण समस्या निम्तिएको बताए ।
विकासको नाममा जताततै खनिएको सडकले वातावरणलाई असर पुर्याइरहेको छ । घर नजीकैबाट खनिएको बाटो, कमजोर भू-बनावट र ४ दिनदेखी परेको अविरल वर्षाको कारण ति घरहरु पहिरोको जोखिममा परेका हुन । त्यसको रोकथाम र संरक्षणको लागि सम्बन्धित निकायको ध्यानपुग्न जरुरी देखिन्छ ।