नेपालद्वारा ऐतिहासिक सिरिज क्लिन स्विप’

काठमाण्डु टुडे २०७६ असार २९ गते १२:०७ मा प्रकाशित


काठमाण्डु, २९ असार- नेपालले मलेसियाविरुद्वको दुई म्याचको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।
१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । मलेसियाकालागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । अमीनुद्वीन रामलीले २४ रन बनाउँदा भिरनदीप सिंह २३ रनमा आउट भए । मुहम्मद रियाहदत २१ रनमा नटआउट रहे । अहमेद फैज १७, शफीक शरीफ १०, अरुवर अरुद्वीन ७ रनमा आउट भए।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
योसँगै विनोद टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बने। यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका थिए।
यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।
मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।
पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
आईसीसीबाट टी-ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २-१ ले जितेको थियो ।
सिरिजपछि नेपाली टोली मलेसियाबाट अब सिंगापुर प्रस्थान गर्नेछ। सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुदैछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us