भारतबाट आयात गरिने तरकारीमा विषादीको परीक्षण सुरु, भुइँकटहर र केरामा बढी विषादी

काठमाण्डु टुडे २०७६ असार २९ गते ११:५२ मा प्रकाशित


काठमाण्डु, २९ असार- सर्वोच्च अदालतको आदेशपछि भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादीको परीक्षण सुरु भएको छ । पूर्वी नेपालको नाका हुँदै आएका तरकारी र फलफूल शुक्रवार अपराह्नदेखि विषादी मापन पुनः थालिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यले जानकारी दिएकी छन् ।
ँमन्त्रिपरिषद्ले विषादी मापन कार्य रोक्ने भनेपछि केही दिन नमुना आएन। सर्वोच्च अदालतले मापन गर्ने काम नरोक्नू भनेर आदेश दिएपछि शुक्रवारदेखि भन्सार कार्यालयहरूबाट विषादी मापनका लागि पुनः नमुना पठाउन थालिएको छ,’ उनले भनिन् । दिनमा झन्डै ३० वटा नमुनाको परीक्षण भइरहेको आचार्यले बताइन् ।
झापाको बिर्तामोडको कृषि थोक बजार परिसरमा रहेको विषादी अवशेष मापन द्रुत प्रयोगशालामा झापा, मोरङ र सुनसरीका नाकाबाट भारतबाट आयात गरिने तरकारीका नमुना विषादी मापनका लागि ल्याइने गरेको छ ।
भन्सारबाट बिहान आएका नमुनाको रिपोर्ट बेलुका र बेलुका आएका नमुनाको रिपोर्ट भोलिपल्ट बिहान दिने गरिएको प्रयोगशालाकी प्राविधिक सहायक आचार्यको भनाइ छ । अहिलेसम्मको रिपोर्टमा भुइँकटहर र केरामा अलि बढी विषादीको प्रयोग भएको र केही दिन राखेर मात्र खान मिल्ने देखिएको उनले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us