खुकुरी प्रहारबाट २० वर्षीय युवाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २९ गते ११:०३ मा प्रकाशित

दाङ , २९ असार- दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार एक समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो । खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
ओलीको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । यस विषयमा अनुसन्धानलाई तीव्र पारिएको समेत प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार शनिबार नै मोतीपुरको जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । साथै शङ्कास्पद रहेका तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us