
काठमाण्डु, २९ असार– श्रीलकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन् ।
प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थ केन्द्रित भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ । ‘राजदूतले कुनै पनि कर्मचारीको मूल्यांकन गर्न नपाउने, होस्ट सरकार ( श्रीलंकाका) का मन्त्रीहरु मलाई भेट्न आउने तर नेपाल सरकारका कर्मचारीले आफूले नियमित पठाउने प्रतिवेदनको समेत उत्तर नदिने भएपछि यहाँ पद ओगटेर जनताको कर सकेर बस्नुको औचित्य नभएर राजीनामा दिएँ,’ प्याकुरलले टेलिफोनमा भने, ‘सरकार अर्थात् राजनीतिक नेतृत्वप्रति कुनै गुनासो छैन । तर, कूटनीतिक सेवामा आएका कर्मचारीलाई यसरी नै छोड्ने हो भने उनीहरूले मुलुकलाई भड्खारोमा पार्छन् । उनीहरू कुनै पनि विषयमा कत्ति पनि गम्भीर छैनन् ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत प्याकुरेललाई पटकपटक पुनर्विचार गर्न आग्रह गरेका थिए। परराष्ट्र सचिव शंकारदास बैरागीले यस विषयमा केही बताउन चाहेनन् । परराष्ट्र प्रवेश गरेको केही वर्षमै कार्यवाहकसमेत हुनेको आकांक्षा कस्तो होला भन्दै उनले भने, ‘मिसन चिफ भएपछि कर्मचारी सचिवको अन्डरमा हुने कि मिसन चिफको ? यस्ता विषयमा के स्वार्थ हुन्छ मन्त्रालयले स्पष्ट पार्नुपर्छ।’
लामो समय प्राध्यापनमा बिताएका अर्थविज्ञ प्राध्यापक प्याकुरेलले भने, ‘कूटनीतिक कर्मचारी केही प्रतिशतले आफ्नो मुलुकका लागि काम गरेका होलान्, अधिकांशले गर्दैनन् । उनीहरु बाहिरबाट राजदूत हुनेलाई कसरी हुन्छ असफल बनाउने नियतले काम गर्छन्, सहयोग गर्दैनन् । अध्ययन त परको कुरा । राम्रो व्यहोरामा लेख्नसमेत सक्दैनन् ।’ प्याकुरेल चार वर्षका लागि २०७४ वैशाख २३ मा नियुक्ति लिएर श्रीलंका पुगेका थिए । सरकारले लामो अनुभव नभएका र दलीय भागबन्डामा राजदूत पठाइरहेका बेला अर्थविद्को राजीनामाले मुलुकको कूटनीतिक अवस्था कुन तहमा पुग्दैछ भन्ने सन्देश दिएको परराष्ट्रका एक अधिकारी बताउँछन् ।
परराष्ट्रका एक अधिकारीले भने, ‘अघिल्ला पुस्ताका यस्ता हस्ती व्यक्तिलाई मन्त्रालयले टिकाउन सक्दैन भने हामी कूटनीतिज्ञ भनेर के हिँड्नु ? ’
अन्नपूर्ण पाेस्टबाट