बाढी पहिरोमा सेनाले जोगायो ३ सय ३६ जनाको ज्यान

काठमाण्डु टुडे २०७६ असार २८ गते १८:४१ मा प्रकाशित

फाइल तस्बीर

काठमाण्डु, २८ असार– नेपाली सेनाले मुलुकका विभिन्न स्थानमा अबिरल वर्षापछि आएको र बाढी र पहिरोमा फसिरहेका ३ सय ३८ जनाको सकुशल उद्दार गरेको छ ।

सेनाले बाढी पहिरोबाट अतिप्रभावित झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डु, ललितपुर र काभ्रेपलान्चोकसहित २१ जिल्लाबाट ती मानिसहरुको सकुशल उद्दार गरेको हो । यस्तै सेनाले बाढी र पहिरोमा परेर निधन भएका सात जनाको शव निकालेर परिवारको जिम्मा लगाएको छ । बाढी र पहिरोमा हराइरहेका ६ जनाको खोजीकार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सेनाले पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग, काठमाण्डु–हेटौंंडा, भोजपुर–खोटाङ लगायत अवरुद्ध सडक खुलाएर सवारी आवागमन सुचारु गराएको छ । यस्तै सेनाले आफूसँग भएका विपद्‌को समयमा प्रयोग हुने श्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषाको धारापानी र काठमाण्डुमा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । प्रत्येक जिल्लामा तैनाथ युनिटहरुमा आपतकालिन उद्धार सामग्रीसहित फौज तयारी हालतमा राखिएको पनि सेनाले जनाएको छ । सेनाले बाढी प्रभावित २१ जिल्लाको ३२ स्थानमा ८ हजार जना फौज परिचालन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us