हेटौंडा, २४ असार– नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवको रुपमा सूर्य भण्डारी नियुक्त भएका छन् । प्रदेश ३ सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो ।
मंगलबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सदस्यसचिव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश ३ को यही असार ९ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश खेलकुद बिकास परिषदको सदस्यसचिवमा काठमाण्डौ ३१ स्थायी निवासी सुर्यलाल भण्डारी सहित ६ जना सदस्यहरु नियुक्त गरेको थियो । मन्त्री स्वयं अध्यक्ष हुने व्यवस्था रहेका परिषदमा बाँकी सदस्यहरु सामाजिक विकास मन्त्रीले नियुक्त गर्नेछन भने परीषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमुख, सामाजिक बिकास मन्त्रालयका सचिव, प्रदेश याजना आयागका सचिव रहनेछन् ।
सदस्यसचिव भण्डारी खेलकुद क्षेत्रमा राम्रो ब्यबस्थापकिय क्षमता भएको ब्यक्तिको रुपमा परिचित छन् । उनले राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघको कोषध्यक्ष हुँदै महासचिव, नेपाल क्वानमुकान कराते दो संघको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको प्रमुख ब्यवस्थापक र नेपाल बिद्यालय खेलकुद महासंघको महासचिवको रुपमा लामो समय काम गरेका छन् । हरेक जिम्मेवारीमा उत्कृट नतिजा दिन सक्ने भण्डारी शिक्षा र पत्रकारिता क्षेत्रमा पनि दख्खल भएका ब्यक्ति हुन ।
उनले २०६८ सालमा नेपाल सरकार द्वारा प्रदान गरिने राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार समेत प्राप्त गरेका थिए । व्यवस्थापन र शिक्षा संकाय दुवैमा स्नातकोत्तर गरेका भण्डारीले शिक्षा संकायमा ऐक्षिक विषयमा स्वास्थ्य तथा शारीरिक विषय अध्ययन गरेका हुन । सदस्यसचिव भण्डारी लामो समयदेखि एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सचिवालयसम्मको र नेकपाको सहायक संगठन वाईसीएल नेपालको केन्द्रिय खेलकुद बिभागको सचिवसम्मको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।