
काठमाण्डु, २३ असार- नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आज अमेरिका भ्रमणमा गएका छन् । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा व्रिटिस आर्म फोर्सले आयोजना गर्न लागेको वैठक र संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्र्फेसमा सहभागी हुन् प्रधानसेनापति थापा आज अमेरिका गएका हुन ।
प्रधानसेनापति थापाको यो तेस्रो विदेश भ्रमण हो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले ४ सदस्यीय भ्रमण दलको नेतृत्व गरेका छन् । भ्रमणको क्रममा प्रधानसेनापति थापाले अमेरिकी सेनाका उच्च अधिकारीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । थापाले अमेरिकी रक्षामन्त्रालयअन्र्तगत रहेको युएस आर्मड फोर्सका भाइस चेयरम्यान जोईन्ट चिफ अफ स्टाफ जनरल पावेल जे सेल्भासहित दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । उनले नेपाली सेना र अमेरिकी सेनाबीचको द्धिपक्षिय सैन्य सहयोगको विषयमा अमेरिकी रक्षामन्त्रालयका उच्च अधिकारीसंग छलफल गर्नेछन् ।
त्यसका साथै नेपाली सेनाको शान्ति मिसनमा सहभागीताबारे राष्ट्रसंघ उच्च अधिकारीसंग समेत उनले भेटवार्ता गर्नेछन् । सेनाले यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेना बीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छ । प्रधानसेनापति थापा श्रावण ०१ गते स्वदेश फिर्ता हने कार्यक्रम रहेको छ ।