
काठमाण्डु, २३ असार- नेपाल मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा भिम सार्कीले अविजित रहदै ३३ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले अविजित ३१ रन बनाए । मलेसियाका हैकल मोहमद खेरले २ तथा मुहमद आमीरले १ विकेट लिए ।यस्तै पवन सर्राफले १८ रन जोड्दा रित गौतम ३ तथा खड्क बोहोरा सुन्य रनमा आउट भए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
नेपाली बलर चम्किएको खेलमा मलेसियाका मुहमद आमिरले सर्वाधिक २४ रन बनाए । यस्तै हैकल मोहमद खेरले १२,वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन बनाए ।नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए ।
फाइनल खेल मंगलबार हुनेछ ।