सिंगापुरलाई नेपालले दियो३२७ रनको लक्ष्य, रीत गौतमले बनाए शतक

काठमाण्डु टुडे २०७६ असार २० गते १२:४३ मा प्रकाशित

काठमाण्डु, २० असार – एशियन क्रिकेट काउन्सिल एसीसी यू-१९ को इस्टर्न रिजन २०१९ प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ४ विकेट गुमाउदै ३२६ रन बनाएको हो ।
नेपालका लागि रीत गौतमले शतकीय पारी खेलेका छन् । गौतमले १३१ बलमा आफ्नो शतक पुरा गरेका हुन् । रीत ११५ रन बनाएर नटआउट रहे । रीतले पहिलो विकेटका लागि पवन सराफसँग ९२ रनको र दोस्रो विकेटका लागि खडकबहादुर बोहोरासँग १३१ रनको साझेदारी समेत गरेका थिए । रीतको यो शतक यस प्रतियोगिताकै पहिलो शतक हो । खड्कबहादुर बोहोरा ९० बलमा ९० रन बनाएर आउट भएका थिए । त्यस्तै ओपनर पवन सराफ ४५ रन बनाएर आउट भए ।
त्यस्तै कुशल मल्लले आक्रामक ब्याटिंग गर्दै २३ बलमा ५१ रन बनाएका थिए । कुशलले ५ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै बिशाल बिक्रम केसी एक, कप्तान रोहित पौडेल ७ रन बनाएर आउट भएका थिए । सिंगापुरका बलर प्रणव सुदर्शन र विनित चितेश मेहताले २-२ विकेट लिएका थिए । नेपालले यस अघि विहिबार खेलेको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो । प्रतियोगिताको सेमिफाइनल जुलाई ८ मा हुने छ भने फाइनल जुलाई ९ मा हुने छ ।
पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू-१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ । दुई समुहमा ८ देशले भाग लिने इस्टर्न रिजनमा नेपाल सिंगापुर, म्यान्मार र चीनसहित समुह ए मा रहेको छ । त्यस्तै समुह बि मा हङकङ, मलेसिया, थाइल्याण्ड र भुटान रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us