काठमाण्डु, १९ असार-रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरेको छ । रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले जेठ १५ गते बाट काम रोकेको थिए । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुङ्गो लागिसकेकाले फाउण्डेशनले काम अघि बढाउनुपर्ने बताए । रङ्गशाला निर्माणको काम शुरु भएसँगै आर्थिक सङ्कलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उहाँले बैठकमा बताए ।
निर्माण हुनलागेको रङ्गशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको मानवअधिकार कानुन न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले बताए ।साथै उनले फाउण्डेशनलाई काममा आउन आग्रह समेत गरे ।उनले सबैले मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताए ।
यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले स्थानीयवासीसँग भएको विवादको टुङ्गो लागिसकेकाले फाउण्डेशनलाई काममा फर्कन आग्रह गरे । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रङ्गशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताए । रङ्गशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले कामलाई नरोक्न उहाँले आग्रह गरे ।
रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्दित हुँदै रङ्गशाला निर्माणको काम गर्नु आवश्यक रहेको बताए । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुनलागेको रङ्गशालाका लागि जिल्लामा पाँच हजार एक सदस्यीय सहयोग समिति गठन गरिएको छ । बैठकमा उद्योगी व्यवसायीले रङ्गशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम शुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करीब रु तीन अर्ब खर्च गरेर फाउण्डेशनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।