एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई हरायो

काठमाण्डु टुडे २०७६ असार १८ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, १८ असार- एसिसी यू-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । नेपालको लागि पवन सर्राफ सर्वा्धिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३ र १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् ।बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त खेल यही असार २० गते हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us