
काठमाण्डु, १७ असार- एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इण्डिजलाई पराजित गरेको छ । इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा गएराति भएको खेलमा श्रीलंकाले वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको हो । योसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै राखेको छ ।
इङ्ल्यान्डको चेस्टरमा श्रीलंकाले दिएको ३ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन मात्र बनाउन सक्यो । वेष्ट इन्डिजका लागि निकोलस पुरनले ११८ रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । श्रीलंकाका लासिथ मालिंगाले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिश्का फर्नान्डोले १०४ रनको शतकीय इनिङ्स खेले । यस्तै कुशल परेराले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा लाहिरु थिरिमानेले अविजित ४५ रन बनाए । वेष्ट इन्डिजका जासन होल्डरले २ विकेट लिए । जितसँगै श्रीलंकाले ८ खेलबाट ८ अंक जोडेको छ । श्रीलंका तालिकाको छैटौं स्थानमा छ । प्रतियोगिताबाट बाहिरिइसकेको वेष्ट इन्डिजले ८ खेलबाट मात्र ३ अंक जोडेको छ ।