
काठमाण्डु, ६ असार– नेपाल कम्युनिष्ट पार्टी नेकपाको शुक्रबार (आज) का लागि तोकिएको सचिवालय बैठक स्थगित भएको छ ।
नेताहरुको कार्यविभाजन, सरकारको समीक्षा र तल्लका कमिटीहरुको पूर्णतालगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो । गृहकार्य नपुगेको भन्दै बैठक स्थगनको जानकारी आएको एक नेताले जानकारी दिए । बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजका लागि बैठक बोलाउने सहमति भएको थियो । सोही सहमतिअनुसार बैठक बोलाइए पनि गृहकार्य नपुगेको भन्दै बैठक स्थगन गरिएको छ । पछिल्लो समय अध्यक्ष प्रचण्ड सरकारको कार्यशैलीप्रति खुलेरै विरोधमा उत्रिएका छन् । प्रचण्डले केही दिनअघि आफ्नै निवास खुमलटारमा भेट्न गएका सरोकारवालासँग गुठी विधेयकको चर्को विरोध गरेका थिए । यस्तै उनले बिहीबार पोखरामा सञ्चारकर्मीसँग समावेशीताको मर्म र भावनावपरीत लोकसेवा आयोगले खुलाएको कर्मचारी विज्ञापनको विरोध गरे ।