निगमकै लापरवाहीका कारण जापान उडान स्थगित भएको खुलासा

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाएका छन् ।

उनले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनीय भएको टिप्पणी गरे । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाईमा कुनै सत्यता नै नभएको जिकिर गरे ।

उनले भने,‘नेपाल एयरलाईन्सको जापानी टिकट बुकिङ प्रणाली नै तयार भएको छैन । यस्तो अवस्थामा निगमले बुकिङ खुल्ला गर्नुपर्दथ्यो, बुकिङ नै नखुलाई एक्कासी टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित् गर्नु रहस्यमयी छ । यसमा नेपाल सरकार खासगरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष ध्यान पुर्याउनुपर्छ ।’

उनले नेपाल एयरलाईन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भएपनि यसको लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएकोपनि गुनासो पोखे । उनले थपे,‘नेपालको तर्फबाट निगमले जतिसक्दो चाँडो प्राविधिक टोली जापान पठाई टिकट बुकिङ प्रणाली सुचारु गर्नुपर्दथ्यो, तर त्यसतर्फ निगमका नेतृत्वले ध्यान दिएन । यही कारण आज निर्धारित मितिमै ओशाका उडान भर्न सकिएन ।’

नेपालबाट जापान सिधा उडान भर्ने सम्झौता भएकै दिनदेखि जापानीहरु उक्त सम्झौताबारे खुशी रहेको आफूले पाएको सुनाउँदै हिराचनले भने,‘जापानमा भएका पर्यटक विभाग र ट्राभेल एजेन्टबाट डिसेम्बरदेखि नै टिकेटको माग आएपछि आशुका ट्राभल एण्ड टुर्सले बारम्बार काठमाडौंमा खबर गर्दापनि नेपाल वायु सेवा निगमले टिकट चाँडै बजारमा निकाल्नको लागि कुनै चासो देखाएन । त्यही भएर टिकट मोनिटर गर्ने राउटर नै सेटअप गर्ने चाहनापनि देखाएन ।’

अघिल्लो वर्षदेखि नेपाल वायु सेवा निगमको ओशाका कार्यालय खोलि नेपाल वायु सेवा निगमको उडान सुरु गर्ने योजना बनेको सुनाउँदै उनले उक्त योजनालाई सफल तुल्याउन नेपालको तर्फबाट खासै चासो र चिन्ता नदेखाईएको पनि गुनासो पोखे । उनले भने,‘आज त्यही भएर समयमै उडान भर्न नसकिएको हो ।’

उनले गत अप्रिलदेखि सबै जापान सरकारको कानूनअनुसार नेपाल वायु सेवा निगमको उडानको लागि चाहिने आवश्यक कागजपत्र र अनुमति आफ्नै नेतृत्वमा दर्ता भैसकेको पनि स्मरण गराए । ६ दशक वितिसक्दापनि नेपाली जनताको ध्वजाबाहक नेपाल वायु सेवा निगमको सरकारी कर्मचारीहरुको लापरवाहीले गर्दा अहिलेसम्म पनि निगमको कुनै राम्रो सन्तोषजनक उपलब्धि हाँसिल नभएको उनको टिप्पणी छ ।

उनकाअनुसार ईन्टर एभिएशन जापान (आईएजे) को सहयोग र सल्लाहअनुसार ६ महिना समय लगाई ओशाका उडानको सबै तयारी जापानको तर्फबाट सम्पन्न भैसकेको छ । ओशाकामा नेपाल वायुसेवा निगमको कार्यालयपनि तयार भैसकेको उनले सुनाए ।

उनले दिर्घकालिन महत्व बोकेको नेपाल–जापान सिधा हवाई उडान सम्झौतालाई नेपाल वायु सेवा निगमले गरेको खेलबाडका कारण नेपाल–जापान द्धिपक्षीय सम्बन्धमा पनि आगामी दिनमा असर पुग्नेबारे चिन्ता व्यक्त गरे । उनले भने,‘यस्तै रवैया रहिरहे नेपाल वायु सेवा निगमलाई भविष्यमा जापान यात्रा तय गर्न निकै गाह«ो हुने मैले देखेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us