पीएम कपमा प्रदेश– १ को पहिलो जित

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, १७ जेठ – प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा उसले कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले आठ विकेट गुमाउँदै दुई सय २८ रन बनायो । उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले ४५ तथा कप्तान पुष्प थापाले २९ रनको योगदान गरे ।

यस्तै सन्नी पुनले ३४ रन बनाए । जवाफमा कर्णाली प्रदेश २० ओभर एक बलमा मात्र ४७ रनमा अलआउट भयो । सुरुवात देखि नै डगमगाएको उसले चार रनमा पहिलो विकेट गुमाउँदा ३४ रनमा ६ विकेट खेर फालेको थियो ।

उसका निश्चल रावलले सर्वाधिक १७ रन बनाउदा अरु ५ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । लगातार विकेट गुमाएको कर्णाली प्रदेश अन्ततः ४७ रनमा समेटियो ।

उसलाई कम स्कोरमा रोक्न पुष्प थापाले घातक बलिङ गरे । उनले नौ ओभरमा १९ रन दिएर ६ विकेट हात पारे । यस्तै मुकुन्द यादवले तीन विकेट हात पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us