नेपाली क्रिकेट टिमको प्रशिक्षकमा भारतीय प्रशिक्षक नियुक्त

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, १७ जेठ – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आउने भएका छन् ।

पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहदै आएकोमा आईसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षकका रुपमा नेपाल आउने भएका हुन् ।

अहिले पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा आउन लागेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताए । साथै उनले आइसीसीले नै पटवालको मासिक तलव दिने बताए । जसमा पटवालले सात हजार अमेरिकी डलर पाउने भएका छन् ।

पटवाल तेस्रो पटक नेपाली क्रिकेटको प्रशिक्षकका रुपमा नेपाल आउन लागेका हुन् । यसअघि नामिबियामा भएको आईसीसी डिभिजन २ मा कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा आएका पटवाल यूएईविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि पनि नेपाली टिमका सल्लाहकार भएर आएका थिए ।

क्यानडियन प्रशिक्षक पुबुदु दाशानायके फर्किएपछि नेपाली टिमलाई जगत टमाटाले सम्हाल्दै आएका थिए । तर अब नेपाली क्रिकेटमा प्रशिक्षकसँगै उमेर समूहका क्रिकेट टिम तयार र नयाँ योजना बनाउन आवश्यक रहेकाले नयाँ प्रशिक्षकको खाँचो रहेको भन्दै परिषद्ले आईसीसीसँग आग्रह गरेको थियो । जसमा आईसीसीले नेपाली क्रिकेटलाई राम्रोसँग बुझेका कारण पटवाललाई नेपाल पठाएको हो ।

पटवाल नेपाली टिमको प्रशिक्षक भएपछि नेपालले आगामी अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गरेको थियो । यूएईविरुद्धको एकदिवसीय र टी–२० सिरिज जित्दा पटवालको मुख्य भुमिका रहेको थियो ।

पटवालले आज (शुक्रबार) नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका रुपमा सम्झौता गर्नेछन् । उनीसँग भारतबाट नै अर्का उनका सहयोगी पनि नेपाल आउने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us