क्रिकेट रंगशालामा डोजर चलेपछि धुर्मुशले रोके सबै काम

काठमाण्डु टुडे २०७६ जेठ १६ गते १२:१३ मा प्रकाशित

चितवन, १६ जेठ – चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सबै काम स्थगित भएको छ ।

बुधबार रंगशाला निर्माण परिसरको जस्तासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एक विज्ञप्ती निकालेर सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्म सम्पुर्ण काम यथास्थितिमा स्थगित गरिएको जनाएका हुन् । यसअघि पनि कर्मचारीसँगै कामदारलाई धम्क्याउने, थर्काउने समूहले डोजर लगाएर तारबार भत्काएपछि काम गर्ने वातावरण नभएको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा छलफलबाट समस्या समाधानको प्रयास हुँदाहुँदै अराजक समूहले क्षति पुर्‍याएको घटनाप्रति सरकारको ध्यानाकर्षण र भर्सना गरिएको छ । धुर्मुसले निर्माणमा खटिने कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामाथि खतरा भइ गम्भीर परिस्थिति सिर्जना भएकाले स्थगित गएिको जनाएका छन् ।

उनले सहयोगी दाताहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन् । भरतपुर महानगरपालिकाले सट्टा भर्नामा जग्गा उपलव्ध गराएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको २० बिघा ६ कठ्ठा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको थियो । भदौमा शिलान्यास गर्ने गरी निर्माणपूर्वका काम गरिरहेको अवस्थामा तारबार भत्काएपछि रोकिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us