
काठमाण्डु, १० जेठ – भारतमा चुनाव जितेपछि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई दिइएको बधाईको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई धन्यवाद फर्काएका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई फर्काएको जवाफमा धन्यवाद दिँदै नेपाल र भारत लामो समयदेखि निकटका साथी र छिमेकी भएको उल्लेख गरेका छन् । उनले जनस्तरमा पनि प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै दुई देशको सम्बन्ध अझ उचाईमा पुर्याउनका लागि ओली सँग काम गर्न आफू प्रतिक्षा गरिरहेको समेत जनाएका छन् ।
त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको बधाईको जवाफ फर्काउँदै मोदीले भारतले नेपाल सँग सम्बन्धलाई महत्व दिएको बताउँदै नेपालको उच्च राजनीतिक तहमा निरन्तर सम्बन्धको लागि आफू प्रतिक्षारत रहेको समेत जनाएका छन् ।
त्यसैगरी प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको बधाईको जवाफमा मोदीले धन्यवाद दिँदै नेपाल र भारतबीचको विशेष सम्बन्धको चर्चा गरेका छन् । उनले दुई देशबीच रहेको परम्परागत निकट र मित्रवत सम्बन्धलाई अझ बलियो बनाउन आफूहरु प्रतिबद्ध रहेको समेत जनाएका छन् ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ट्विट मार्फत दिएको बधाईमा धन्यवाद दिँदै मोदीले भारत दुई पक्षीय सम्बन्ध सुदृढ गर्नका लागि नेपाल सरकारसँग काम गर्न इच्छुक रहेको बताएका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा जवाफ फर्काउँदै मोदीले आफूहरु नेपालसँगको साझेदारीलाई अझ बलियो बनाउने कुरामा गहिरो हिसाबले प्रतिबद्ध रहेको जनाएका छन् ।
त्यस्तै, राप्रपाका अध्यक्ष कमल थापालाई जवाफ दिँदै मोदीले भारतले नेपालसँगको निकटको, ऐतिहासिक र बहुपक्षीय साझेदारीलाई महत्व दिएको जनाएका छन् ।