समाजवादी सांसदले भनेः भूलबस ‘फ्री तिब्बत’ पक्षधरको कार्यक्रममा पुगेछौं

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, ६ जेठ – प्रतिनिधिसभाका सांसदहरु एकवाल मियाँ र प्रदीप यादवले तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भूलबस पुगेको भन्दै क्षमायाचना गरेका छन् ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै दुबै सांसदहरुले गत बैशाख २४ देखि २८ गतेसम्म लाट्भियाको राजधानी रिगामा आयोजना गरिएको सातौँ विश्व तिब्बतबारे संसदीय सम्मेलनमा भूलबस पुगेको दावी गरेका छन् ।

उनीहरुले व्यक्तिगत हैसियतमा निजी तबरबाट टर्की, स्वीट्जरल्याण्ड र लाट्भियाको भ्रमणमा गएको र लाटभियाको राजधानी रिगामा कानून निर्माताहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको भन्ने गलत सूचनाका कारणले अज्ञानतावस उक्त सम्मेलनमा सहभागी हुन पुगेको उनीहरुको दावी छ ।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘जव हामीलाई उक्त सम्मेलनको सम्बन्धमा यथार्थ जानकारी हुन गयो, तत्पश्चात हामी तत्काल उक्त सम्मेलन स्थल छोडी फर्कियौँ । अनभिज्ञताबस गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएकोप्रति हामी दुःखी छौँ ।’

उनीहरुले नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल सरकारको एक चीन नीतिप्रति सदैव प्रतिबद्धता र दृढ समर्थन रहेको उल्लेख गरेका छन् । साथै प्रतिनिधि सभाका सदस्यले पालना गर्नुपर्ने आचार संहितालाई पूर्णरुपमा पालना गर्ने उनीहरुले बताएका छन् ।

स्वतन्त्र तिब्बत सम्बन्धी कार्यक्रममा सहभागीता जनाएको भन्दै चर्को आलोचना भएपछि उनीहरुले यसरी सार्वजनिक रुपमा क्षमायाचना गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us