अब कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही !

काठमाण्डु टुडे २०७६ जेठ ६ गते ११:३० मा प्रकाशित

काठमाण्डु, ६ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कर्मचारीले घुस खाए कार्यालय प्रमुखलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार अख्तियार कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले अख्तियारका कर्मचारीलाई सेवाग्राही बनाएर सरकारी कार्यालयमा पठाइरहेको जानकारी दिए ।

घिमिरेले भने, ‘आयोगले सेवाग्राही बनाएर अख्तियारको कर्मचारी बढी आर्थिक कारोबार हुने कार्यालयमा पठाइरहेको छ । अब कर्मचारीले घुस लिएको भेटिए कार्यालय प्रमुखलाई समेत कारबाही गर्छौं ।’

साथै उनले अख्तियारले देशभरका १ हजार ८४८ ठेक्काको विषयमा अनुसन्धान गरिरहेको बताएका छन् । तिमध्ये मुख्य ४७ वटा ठेक्को अनुसन्धानलाई प्राथमिकतामा राखिएको जानकारी पनि उनले दिए ।

‘एक खर्ब ४८ अर्ब रुपैयाँ सरकारी पुँजी व्यवसायीको हातमा रहेको पाइएको छ, यसको विश्लेषण हेर्दा ठेक्काको अवस्था डरलाग्दो छ,’ उनले भने ।

साथै उनले बालुवाटार र जुम्लाको गुठिचौरस्थित सार्वजनिक जग्गा हिनामिनाका घटनालाई प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताए । १ हजार ८४८ ठेक्का र १२० जना कर्मचारीको सम्पत्तिसमेत छानविन गरिरहेको जानकारी उनले दिए ।

देशभर भइरहेको सार्वजनिक जग्गा अतिक्रमण र ठेक्कामा भइरहेको अनियमिततालाई आयोगले गम्भीरतापूर्वक लिएको बताए ।

‘अहिले चर्चामा रहेको बालुवाटारको ललिता निवासदेखि जुम्लामा गुठिचौरको ५९० रोपनी जग्गाको विषयसम्म अख्तियारले अनुसन्धान थालिसकेको छ,’ उनले भने, ‘यस कार्यमा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us