
एजेन्सी । गुगलले चिनियाँ मोबाइल कम्पनी ह्वावेईसँगको व्यापार सीमित पार्दै ह्वावेईलाई उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ ।
यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् ।
गुगलका एक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा गुगल रहेको बताए । रोयटर्स समाचार संस्थाका अनुसार नयाँ ह्वावेई स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन् ।
उक्त समाचार संस्थाका अनुसार ह्वावेईका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जीमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन् । ह्वावेईले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट ह्वावेईलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ ।
तर ह्वावेईले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ।
बुधवार ट्रम्प प्रशासनले ह्वावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो ।
विश्वभर कैयौँ सरकारहरूले सुरक्षा चिन्ता दर्साउँदै नौलो फाइभजी मोबाइल सञ्जाल विकासमा ह्वावेईका उपकरण प्रयोग गर्न रोक लगाएका छन् ।
हालसम्म ब्रिटेनले ह्वावेईलाई औपचारिक प्रतिबन्ध लगाइसकेको छैन । चिनियाँ कम्पनीले ट्रम्प प्रशासनको चिन्तालाई निराधार भन्दै आफू बेइजिङ सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ ।