विश्व र्‍याफ्टिङमा नेपाल १० औँ स्थानमा

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १५:४९ मा प्रकाशित

एजेन्सी । नेपालले विश्व र्‍याफ्टिङ च्याम्पियनशिपमा १० औँ स्थान हासिल गरेको छ । अष्ट्रेलियामा सम्पन्न वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप डब्ल्यूआरसी को खुल्ला पुरुषतर्फ नेपाली टोली समग्रमा १० औँ स्थान हासिल गर्न सफल भएको हो ।

नेपालले खुल्ला पुरुष स्प्रिन्टमा ७९ अंकसहित पाँचौ स्थान हासिल गरेको छ भने एच टू एच १ सय ३४ अंक प्राप्त गर्दै नवौं भएको थियो ।

यस्तैगरी स्लोलमतर्फ १ सय ९३ अंक पाएको नेपाली टोली १३ औं हुन पुगेको थियो र डाउनरिभरतर्फ सुधार गरेको नेपाली टोली २ सय ६६ अंक प्राप्त गर्दै छैठौं भयो । नेपालले समग्रमा ६ सय ७२ अंक पाएको छ । स्प्रिन्टमा पाएको नतिजा नेपालका लागि अहिलेसम्मकै उच्च सफलता हो । च्याम्पियनशिपको खुल्ला पुरुषतर्फ समग्रमा ब्राजिलले शीर्ष स्थान हासिल गर्‍यो ।

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनशिपमा सुरज गुरुङको कप्तानीमा रहेका नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us