गोरखाकाे जंगलमा ऐँसेलुको झाङमा व्यस्त बाबुराम !

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १५:३० मा प्रकाशित

काठमाण्डु, ५ जेठ – समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मासिक निर्वाचन क्षेत्र भ्रमणका क्रममा आइतबार गोरखा पुगेर ऐँसेलु टिप्दै गोठाले बाल्यकालको सम्झना गरेका छन् । बाबुरामले ऐँसेलु टिपेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जंगलमा ऐँसेलु टिप्दै, गोठाले बाल्यकाल सम्झदै ।’

बाबुराम यो महिना गोरखा–२ को ठाँटीपोखरीदेखि बयानपानी, पाँडेवेसीदेखि केरावारीसम्म पुगे । उनले निर्वाचन क्षेत्र भ्रमणका क्रममा दूधपोखरी सडकमार्गको निरीक्षण गरेका छन् ।

‘लामो समयदेखि अवरुद्ध दूधपोखरी सडकमार्ग निर्माणको निरीक्षण गरियो’, बाबुरामले फेसबुकमा लेखेका छन्, ‘सडक अझै अपुरो पाउँदा दुःख लाग्यो । थप बजेट रकमान्तर गराएर यो वर्ष ट्रयाक पुरै खोल्ने अपेक्षा गरिएको छ ।’

निर्वाचन क्षेत्र भ्रमण सकेर फर्किदा उनी गोरखाको ऐतिहासिक सिरानचोकको चित्रे पोखरी, हामी भञ्ज्याङ्मा पुगे । उनले त्यहाँका स्थानीयसँग भेटघाट गरेका छन् ।

बाबुरामले २०२६–२७ सालमा हर्मी भन्ज्याङमा छोटो समय मास्टरी गर्दा बसेका घरका लोकनाथ ढकाल र जीवनज्योति ढकालसँगसमेत रमाइलो भेट गरे । उनले उनीहरुसँगको गफगाफको तस्बिरसमेत फेसबुकमा सार्वजनिक गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us