निर्मला पन्त प्रकरणपछि बलात्कारका घटना दोब्बर बृद्धि: एसएसपी सुवदी

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पेशेवर भन्दा सामाजिक विकृतिबाट सृजित अपराध बढेको बताएका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार काठमाण्डुको कालिकास्थानमा आयोजित अन्तरक्रियामा उनले लागूऔषध दुव्र्यसन, समाजिक सञ्जालको बढ्दो दुरुपयोग जस्ता कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताए ।

उनले हत्या, हिंसा र बलात्कारका घटना गत वर्षको भन्दा दोब्बर बृद्धि भएको बताए । निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारकारकर्मीबाट जनचेतनाका थुप्रै कार्यक्रम भए पनि घटना बढ्दै जानु चुनौतिको विषय बनेको उनले बताए ।

पाँच सय वटा हत्या घटनाको विश्लेषण गर्दा एक सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएको उनले जानकारी दिए ।
सामाजिक सञ्जालको दुरुपयोगले हिंसाका घटना बढाएको अध्ययनले देखाएकोे उनले बताए । उनले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाइएको उल्लेख गरे ।

पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडित १८ वर्ष भन्दा मुनिका बालिका भएको उल्लेख गर्दै उनले घरपरिवार, नातागोता, छिमेकी, सहकर्मी, शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताए । शान्ति सुरक्षा स्थापनामा प्रहरीलाई समुदायको सहयोग जरुरी रहेको उनले स्पष्ट पारे । उनले अपराधको प्रकृति र प्रवृत्ति हेरेर समुदायमा आधारित कार्यक्रम मार्फत जनचेतना फैलाउने काममा सहयोग गर्न समुदायलाई आग्रह गरे ।

कार्यक्रममा सहभागी महानगरपालिका २८ र २९ वडाका स्थानीयले शान्ति सुरक्षा प्रभावकारी हुन नसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराएका थिए । सडकको दुरावस्था, चोरीका घटना बृद्धि, मिटरमा ट्याक्सी जान नमान्ने जस्तो गुनासो स्थानीयले प्रहरीसँग राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us