नेकपाले आफू निकट पत्रकारलाई धुम्बाराही बोलायो

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी निकट पत्रकारलाई बोलाएर मिडिया काउन्सिल सम्बन्धी विधेयकमाथि छलफल गरेको छ । आइतबार बिहानै नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई छलफलका लागि बोलाइएको छ ।

file photo

पत्रकार महासंघ विधेयकका केही बुँदामा असन्तुष्टी जनाउँदै आन्दोलनमा रहेका बेला सत्तारुढ दलका नेताले पार्टी निकट पत्रकारसंग छलफल गरेका हुन् ।  छलफलमा पार्टीका तर्फबाट उपनेता सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, योगेश भट्टराई उपस्थित थिए भने केही पत्रकारको मात्र उपस्थिति रहेको थियो ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफुलाई छलफलका बारेमा केही जानकारी नभएको बताए । प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले स्वास्थ्य अवस्थाका कारण आफू छलफलमा उपस्थित हुन नसकेको बताए ।

छलफलका क्रममा संगठनका केन्द्रीय नेता महेश्वर दाहालको भने उपस्थिति रहेको थियो । महासंघका अध्यक्ष गोविन्द आचार्यले आफू महासंघको अध्यक्षका रुपमा मात्र रहेको उल्लेख गरे । उनले सरकारले विधेयक नसच्याएसम्म महासंघले आन्दोलन फिर्ता नलिने समेत बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us