धनकुटामा बहिनी जिस्काएको निहुँमा साथीको हत्या

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १०:५३ मा प्रकाशित

धनकुटा, ५ जेठ – बहिनी जिस्काएको निहुँमा महालक्ष्मी नगरपालिका–२ का एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

वैशाख पूर्णिमाको अवसरमा स्थानीय साकेला थान मन्दिरमा लागेको उभौली मेलामा रातभर नाचगान र खानपिनसँगै गरेका सन्तोषलाई घनेन्द्रले आफ्नो चेलीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

बिहान करीब ५ बजे दुई पक्षबीच भएको झडपका क्रममा घाइते भएका सन्तोषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

घटनामा संलग्न अन्य दुई जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us