मोदी गुफा पस्नासाथ सामाजिक सञ्जालमा भाइरल

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १०:३४ मा प्रकाशित

एजेन्सी – चुनावी प्रचारको अवधि सकिएर मतदानका लागि मौन अवधि सुरू भयो भने प्रायः उम्मेदवार सार्वजनिक रूपमा मौन नै हुन्छन् तर गोप्य रूपमा मतदातालाई आफ्नो पक्षमा पार्न प्रयत्नरत हुन्छन् । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने सार्वजनिक रूपमै अप्रत्यक्ष तरिकाले अन्तिम समयसम्म चुनावी प्रचार गरिरहे ।

गत अप्रिल ११ देखि सुरू भएको भारतीय लोक सभा चुनावको अन्तिम चरणको मतदान आइतबार हुँदैछ । जसमध्ये मोदी उम्मेद्वार रहेको उत्तरप्रदेशको वनारस पनि एक क्षेत्र हो । चुनावी प्रचारको समय शुक्रबार सकियो । तर मोदीले अर्को दिन अर्कै तरिकाले चुनावी प्रचार गरे ।

मोदीको भारतीय जनता पार्टी हिन्दूत्वको नारा लिएर राजनीति गरिरहेको छ । गुजरातका मोदी आफैं पनि हिन्दूहरूको धार्मिक तिर्थस्थल उत्तर प्रदेशको बनारसबाट चुनाव लडेका छन् । तिनै हिन्दू मतदाताको ध्यान तान्न मोदी शनिबार हिन्दुहरूका चार धाममध्येको एक केदारनाथ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ । उनले केदारनाथमा प्रधानमन्त्रीको रूपमा त्यहाँ भइरहेको पुनर्निर्माणको निरीक्षण गरे अनि केहीबेरमा प्रधानमन्त्रीबाट तपस्यी बने । पहेँलो सल ओढेर उनी ध्यान गर्ने भन्दै ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र पसे ।

प्रायः ध्यान एकान्तमा गरिन्छ र बाँकी भौतिक दुनियाँबाट आफूलाई विच्छेद गर्ने प्रयत्न गरिन्छ । तर मोदीको ध्यान भने फरक थियो । उनी गुफाभित्र पस्नासाथ ध्यान गरिरहेको तस्बिर सञ्चारमाध्यममा छाइसकेको थियो । त्यसपछि उनको ध्यान समाचारको शीर्षक र सामाजिक सञ्जालमा चर्चापरिचर्चाको विषय बन्यो । उनको यो शैलीलाई कतिपयले हिन्दू मतदातालाई प्रभाव पार्न गरिएको प्रचारको एक हिस्सा ठानेका छन् ।

मोदी कुनै सामान्य गुफामा ध्यान बसेका होइनन् । उक्त गुफामा ध्यान गर्ने मोदी पहिलो व्यक्ति हुन् । मोदीको ध्यानका लागि गुफामा व्यापक प्रबन्ध गरिएको थियो । सिसिटिभी जडान गरिएको थियो । उक्त सिसिटिभीका दृश्यलाई बाहिर बसेका सुरक्षाकर्मी निरन्तर अवलोकन गरेका थिए ।

गुफाभित्र ओछ्यानसहितको एउटा कोठाको व्यवस्था छ । सोही कोठामा अट्याच बाथरूम पनि छ । सँगै ध्यान गर्न खाली जमिन छ भने कोठाको झ्यालबाट बाहिरको सुन्दर दृश्य देखिन्छ ।

मोदीले गुफाभित्र रातभरि ध्यानमात्र गरे कि निदाए भन्ने खुलाइएको छैन ।

‘म भगवानसँग कहिले पनि केही माग्दिनँ, म यहाँ शान्ति, प्रार्थना र ध्यानका लागि आएको हुँ,’ आइतबार बिहान मोदीले सञ्चारकर्मीसँग भने ।

उनी आइतबार उत्तराखण्डमै पर्ने अर्को धाम बद्रीनाथ जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको यो तिर्थाटनलाई निजी भ्रमण भनिएको छ ।

मोदी उम्मेदवार रहेको बनारसलगायत ५९ सिटमा आज लोकसभाका लागि मतदान हुँदैछ । आज हुने सातौं चरणको मतदानसँगै अप्रिल ११ मा सुरू भएको भारतीय लोकसभाको मतदान प्रक्रिया सकिनेछ । भारतीय निर्वाचन आयोगले आगामी बिहीबार लोकसभा चुनावको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us