
काठमाण्डु, ५ जेठ – झापाको काकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ का प्रहरी प्रमुख डिआईजी दीपक थापाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २५ जनामध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाण्डु पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ ।
ज्यान गुमाउने काठमाण्डु चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डु जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ ।
अन्य २ जनाको सनाखत भएको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको डिआईजी थापाले जानकारी दिए । प्रहरीका अनुसार चालक सम्पर्कमा छैनन् । दुर्घटनाको कारण पनि खुलेको छैन ।