
काठमाण्डु, ३ जेठ – स्थानीयको अवरोधपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरूको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो ।
धरहरा वरपरका स्थानीयले पैदल मार्ग नखुलाएको भन्दै अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।
स्थानीयले विगत ६ महिनायता आफूहरूलाई आवात जावतका लागि सहज बनाउन पनि पैदलमार्ग खुलाउन धराहरा निर्माण समितिसँग माग गर्दै आएका थिए । उनीहरूले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन् ।
पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाण्डु मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए । स्थानीयले अवरुद्ध पारेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो ।
धराहरा निर्माण प्रोजेक्टका म्यानेजर श्रेष्ठले सुरक्षाको दृष्टिकोणले पनि पैदल मार्गलाई समेत रोकेर निर्माण कार्यलाई अघि बढाउनु परेको पनि स्पष्ट पारेका छन् । सो प्रोजेक्टले स्थानीयको मागलाई तत्काल सम्बोधन गरी धरहरा निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि जनाएको छ ।