
एजेन्सी । लण्डनमा बस्दै आएका नेपाली मूलका किशोरले इंग्लिस प्रिमियर लिगमा आबद्ध भएका छन् । साउथ इस्ट लण्डनको प्लमस्टिड निवासी १५ वर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमका लागि अनुबन्धन भएका हुन् ।
बिहीबार लण्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा जय र क्लबबीच आउँदो सिजन (२०१९/२०) का लागि सम्झौतामा हस्ताक्षर भएको छ । इंग्लिस प्रिमियिर लिग इंग्ल्याण्डको सबैभन्दा उपल्लो तहको फुटबल लिग हो ।
विश्व फुटबलकै प्रतिष्ठित यो लिग इंग्ल्याण्डका शीर्ष २० क्लबले मात्र खेल्छन् । यस सिजनमा प्रिमियिर लिगको एघारौं स्थानमा आउन सफल वाटफोर्ड क्लब एफए कपमा भने म्यानसिटीसँगै फाइनलमा छ ।
लण्डनमै जन्मिएका जय ४ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका हुन् । यसअघि उनले टोटेनहाम र वेस्टह्याम जस्ता प्रिमियिर लिग क्लबमा पनि ट्रायलमा खेलिसकेका छन् । त्यस्तै उनले जुनियर रेड्सबाट नन लिग तहको केन्ट लिग पनि खेलेका थिए ।