
उदयपुर, १ जेठ – उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ ।
उदयपुर सिमेन्ट उद्योग आसपासको उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही अतिक्रमणकारीले रातिको समयमा टहरा तथा घर निर्माणकार्य सुरू गरेपछि मंगलबार प्रहरीले हस्तक्षेप गरेर टहरा निर्माणका सामग्री कब्जा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
केही दिनदेखि निरन्तर रूपमा उद्योगको स्वामित्वमा रहेको जग्गा कब्जा हुन थालेपछि झण्डै चार बिघा क्षेत्रफल जग्गामा टहरा धमाधम निर्माण गर्ने र राति–राति केही अतिक्रमणकारी आएर जग्गा कब्जा गर्न थालेको उद्योग प्रशासनले आफूहरुलाई सूचना गरेर जग्गा बचाउन सहयोगको लागि अनुरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेर जग्गाको सुरक्षा गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए ।
उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार उद्योगको स्वामित्वमा रहेको गाईघाट–कद्माहा–सगरमाथा सडकमार्गको जलजले सडक आसपासका चार बिघा जग्गा केही अतिक्रमणकारीले अतिक्रमण गर्दै रातिको समयमा भौतिक संरचना निर्माण सुरू गरेका थिए । त्यसपछि उद्योग प्रशासनले प्रहरी प्रशासन गुहारेको थियो ।
उद्योग आसपास जलजलेस्थित गाईघाट–कद्माहा–सगरमाथा सडकखण्डको दायाँबायाँ क्षेत्रमा सिमेन्ट उद्योगको बीसौं बिघा जग्गा छ । उक्त जग्गामा अतिक्रमणकारीले पटक–पटक अतिक्रमण गर्ने प्रयास गर्दै आए पनि प्रहरी प्रशासनले हस्तक्षेप गरेर सुरक्षा गर्ने गरेका कारण कब्जा गर्न सफल भने हुन नसकेको सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।
उद्योग करोडौँको सिमेन्ट बिक्री गर्न सफल
उदयपुर सिमेन्ट उद्योगले अहिले दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्दै १२ हजार बोराभन्दा बढी सिमेन्ट दैनिक बिक्री गर्न सफल भएको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगका निमित्ति महाप्रबन्धक साहका अनुसार अहिले उद्योगले सफलतापूर्वक दैनिक रु एक करोडभन्दा माथिको सिमेन्ट बिक्री गरिरहेको छ ।
विगतमा सिमेन्ट उत्पादन नियमितरूपमा गर्न विद्युत् कटौती तथा लोडसेडिङको कारण असफल हुँदै आएको उद्योगले अहिले विद्युत् आपूर्ति सहज भएपछि उत्पादन क्षमता पनि फुलफेजमा गरिरहेको र अझ सिमेन्ट बिक्रीमा दिनानुदिन वृद्धि हुँदै गएको उद्योग प्रशासनले बताएको छ । रासस