वनमा आगो लगाउने रंगे हात समातिए

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १२:५१ मा प्रकाशित

सल्यान, ३१ वैशाख – सामुदायिक वनमा आगो लगाउँदै गरेको अबस्थामा सल्यानमा एकजना पक्राउ परेका छन् । शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो ।

वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खाडलाई आगो लगाउँदै गरेको अस्थामा वनबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख बिमल डाँगीले बताए । खाँडले लगाएको आगो नियन्त्रणमा लिइएको छ ।

आगो लगाउने खाँडलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सल्यानमा बुझाइएको छ। वन जंगलमा आगो लगाउने कसैलाई पनि नछाड्ने उनले बताएका छन । जिल्लाका विभिन्न सामुदायिक वनहरुमा डढेलो लागिरहेको छ ।

डढेलोका कारण अहिलेसम्म एक जनाको मृत्यु भइसकेको छ। एकजना गम्भीर घाइते भएका छन् । डढेलोबाट दर्जन बढी घरगोठ खरानी भएका छन् । आगो लगाउनेलाई कारबाही हुने उनले बताए ।

जिल्लाका सबै सुरक्षा निकाय, डिभिजन वन कार्यालयले विभिन्न स्थानमा सचेतामुलक कार्यक्रम गरे पनि वनमा डढेलो कम हुन सकिरहेको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us