
काठमाण्डु, ३१ वैशाख– बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कविद कटुवालको सरुवा भएको छ ।
उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डिएसपी कुमुद ढुंगेल छानबिनका लागि काठमाण्डु तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो । स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डिआईजी निरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल प्रमुख भूमिकामा छन् ।
सरुवाको अधिकार महानिरीक्षकमा निहीत भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवालाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने एक उच्च प्रहरी अधिकारीले बताए । तीन महिनाको समय दिएर ब्युरोलाई अनुसन्धान गर्न दिइए पनि अझै एक महिनाभन्दा बढी बाँकी छ ।
अनुसन्धान निस्कर्ष नजिक पुग्न लागेका बेला डिएसपी कटुवालको सरुवा भएको हो । कान्तिपुर दैनिकबाट