
काठमाण्डु, २९ वैशाख – पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सांसद सुरेन्द्र पाण्डेले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमा फ्रस्ट्रेसन देखिएको टिप्पणी गरेका छन् । आइतबार प्री–बजेटमा संघीय संसद प्रतिनिधिसभा बैठकको छलफलमा सहभागी हुँदै पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकतामाथि बोल्ने क्रममा डा. भट्टराईमा फ्रस्ट्रेसन देखिएको बताएका हुन् ।
बजेटका सिद्धान्त र प्राथमिकतामाथि भट्टराईको धारणा पनि सान्दर्भिक नभएको भन्दै पाण्डेले प्रतिवाद गरेका थिए । पूर्वप्रधानमन्त्री भट्टराईपछि आफ्नो धारणा राख्न रोस्ट्रममा पुगेका सांसद पाण्डेले डा. भट्टराईमा स्पष्ट रूपमा फ्रस्ट्रेसन देखिएको बताएका हुन् । उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्ट्रेसन जस्तै भएको तर्क गरेका थिए ।
पाण्डेले भने, ‘१९८० को दशकमा पूर्व कम्युनिष्टहरू पनि जुन देशमा क्रान्तिहरू गर्न सकेनन् र असफल भइसकेपछि निराश मानिसहरूले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जादैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडर्निष्ट विचार त्यस सिलसिलामा जन्म भए । दक्षिणपन्थीहरूभित्र पनि एक खालका दक्षिणपन्थीहरूबाट विरक्तिएका वामपन्थी आन्दोलनबाटै बिरक्तिएकाले यस खालका विचार ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी, कुनै कुराबाट त्यो निर्देशित थिएनन् । वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्ट्रेसनको अभिव्यक्ति थियो । यो चिज हाम्रो देशमा पनि स्वयम् डा. भट्टराईमा व्यक्त भयो ।’
बजेटका सिद्धान्त र प्राथमिकता आधा निद्रामा लेखिएको भन्ने डा. भट्टराईको टिप्पणी सान्दर्भिक नभएको पाण्डेको भनाइ थियो । उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए ।