
काठमाण्डु, २७ वैशाख – अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्वसभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । गत आइतबार पक्राउ परी महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएकी साहलाई शुक्रबार बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको हो ।
शिशु जन्म दिएर अस्पतालमै छाडेको आरोपमा पूर्व सभासद् साह र उनका पति राजेश महतोलाई मेडिसिटी अस्पतालबाट पक्राउ गरी सातदोबाटो प्रहरी हिरासतमा राखिएको थियो । ललितपुरस्थित मेडिसिटी अस्तालले दिएका उजुरीका आधारमा सन्तान जन्माएर अस्पतालमै छोड्नु गैरकानुनी भएको भन्दै साह दम्पतिलाई पक्राउ गरिएको थियो ।
हिरासतमा राखेदेखि नै साह दम्पति आमरण अनशन बस्दै आएका छन् । साहको शरीरमा ग्लुकोजको मात्रा कम भएको र प्रेसर घटेको बहिनी ऋतुलेले बताइन ।
चिकित्सकको लापरवाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको नवजात शिशु जन्मिएको भन्दै साह दम्पती विरोध र धर्नामा उत्रेका थिए । साहले गत चैत्र गुन २८ गते मेडिसिटी अस्तपालमा छोरा जन्माएकी थिइन् । बच्चा जन्मिएपछिको रिपोर्टमा अस्पतालले शिशुको स्वास्थ्य अवस्था ठिक रहेको जनाएको थियो । तर, केही दिनपछि अस्पतालले नै भारतमा पठाएको नमुना परीक्षणबाट शिशुमा डाउन सिन्ड्रोम रहेको खुलेको थियो ।
त्यसपछि साह दम्पत्तिले डा. निरासिंह श्रेष्ठ र उनी कार्यरत मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीको सिकार आफूहरु भएको भन्दै शिशुको डिस्चार्ज लेटर लिन अस्वीकार गरेका थिए ।
यी दम्पतीले चिकित्सकको लापरवाहीले ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको दाबीसहित बच्चाको भरणपोषण र उपचारको जिम्मा अस्पतालले नै लिनुपर्ने माग गर्दै आएका छन् । यही विषयलाई लिएर अस्पतालले उनीहरुविरुद्ध उजुरी दिएको थियो । सोही उजुरीका आधारमा उनीहरु पक्राउ हुन् ।