
काठमाण्डु, २५ वैशाख– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकतालाई आत्मसमर्पणको संज्ञा दिँदै बाबुराम भट्टराईलाई दर्जन बढी प्रभावशाली नेताले साथ नदिएको खुलासा भएको छ ।
उनीहरुले एकता प्रक्रियाबाट आफूहरु अलग रहेको बताएका छन् । ललितपुरमा बुधबार बसेको असन्तुष्ट पक्षको भेलाले फोरमसँगको एकतामा सामेल नहुने निस्कर्ष निकालेको हो । उनीहरुले एकता सम्मानजनक नभएको विषयमा एकपटक बाबुरामलाई भेटेर ज्ञापनपत्र दिने र सम्बोधन नभए पूरानै पार्टी नयाँ शक्तिलाई संगठित गर्ने निस्कर्ष निकालेका छन् । एकताबारे पार्टीमा पर्याप्त छलफल नै नरहेकामा उनीहरुको आक्रोश छ । भेलामा नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मदनकुमार राई, भक्तबहादुर साह, सोनामसिंह स्याङतान, रामबहादु बोहरा, रामरिझान यादव र ज्ञानेन्द्र कुमाल लगायत थिए । धमला पूर्वमन्त्री तथा साह र कुमाल पूर्वसभासद हुन् ।