
चितवन, २५ वैशाख – पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घरमा बुधबार बिहान करीब २ बजे दुई जनाको समूहले मास्क लगाएर चोरी गर्ने क्रममा पोखरेल दम्पतीलाई आक्रमण गरेको हो । सो क्रममा पोखरेल र श्रीमती ६५ वर्षीया मनरुपा घाइते बनेका छन् ।
उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ । उनीहरुको साथबाट रिङ् र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ ।
पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिए । रासस