महाकाली नदीमा बेपत्ता सहायक लेखापालको शव भेटियो

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते ११:४४ मा प्रकाशित

डडेल्धुरा, २५ वैशाख – महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधबार शव फेला परेको हो ।

परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा महाकाली किनारमामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

यहाँका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पालका आफन्तलाई शवको तस्वीर पाउँदा उक्त शव उनकै भएको पुष्टि गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरेर शव नदिबाट निकाल्ने प्रयास भइरहेको उनले बताए ।

शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका बेला नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us