
बुटवल, २५ वैशाख – भूकम्प मापनका लागि बुटवलमा भूकम्प मापन यन्त्र जडान गरिएको छ । विद्यार्थी मार्फत भूकम्पबाट बच्ने तरिका सिकाउन भन्दै न्यू होराइजन आवासीय माविले भूकम्प मापन गर्ने उपकरण सिस्मोमिटर जडान गरेको हो ।
विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले होराइजन सहित देशभरका २२ विद्यालयमा उपकरण जडान थालेको छ । सिस्मोमिटरले एक म्याग्निच्युटको भूकम्प ४० किलोमिटर आसपाससम्म, ४ म्याग्निच्युटको नेपालभर र ८ म्याग्निच्युट सम्मको भूकम्प विश्वभरको मापन गर्न सक्छ । यसले दिने जानकारी मोबाइल एप्लिकेसन मार्फत पनि हेर्न सकिन्छ ।
स्वीटजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले एक लाख रुपैयाँ मूल्य पर्ने सिस्मोमिटर विद्यालयहरुलाई निःशुल्क उपलब्ध गराएको छ ।
भूकम्प विज्ञानमा विद्यावारिधि गर्दै गरेका विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमका अध्यक्ष शिव सुवेदीले अबको भूकम्प पश्चिम नेपालमा जुनसुकै बेला आउन सक्ने भएकाले यो क्षेत्रलाई धेरै लक्षित गरेर सचेतना कार्यक्रम चलाउनु पर्ने बताए । उनले भूकम्पलाई कसैले रोक्न नसक्ने भएपनि जोखिमबाट बच्न सजगता अपनाउन विद्यालयमा भूकम्प शिक्षा जरुरी भएको बताए ।