गगन थापाले ‘राष्ट्रपतिको प्रधानमन्त्री’ भन्दा रिसाएका ओलीले दिए कडा जवाफ

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १९:१० मा प्रकाशित

काठमाण्डु, २४ वैशाख–काँग्रेस सांसदको अवरोधका कारण प्रतिनिधिसभामा दिन नसेकको जवाफ प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभाबाट दिएका छन् ।

मंगलबारको संसद बैठकका सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर हंगामा गरेको थियो ।  ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको जवाफ दिन उपयुक्त नभएको बताएपछि काँग्रेस सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाए । काँग्रेस सांसदहरु आफ्नो आसनबाट उठिरहेकै बेला सभामुख कृष्णबहादुर महराले सरकारको नीति कार्यक्रम संसदको बहुमतले स्वीकृत भएको घोषणा गरे । लगत्तै प्रधानमन्त्री ओली राष्ट्रियसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिन गए । प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ पनि उनले राष्ट्रियसभाबाटै दिए । प्रतिनिधिसभामा काँग्रेस सांसद गगनकुमार थापाले वाइडबडी जहाज प्रकरणमा मन्त्री र बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा ल्याउने काममा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई ठगिएको भन्दै निर्दोष घोषणा गरेर छानबिन प्रभावित पारेको आरोप लगाएका थिए ।

‘राष्ट्रपतिज्यूको सरकारका प्रधानमन्त्रीले वाइडबडीमा मन्त्रीलाई निर्दोष घोषणा गर्नुभयो । बालुवाटार जग्गा प्रकरणमा महासचिव कमरेडलाई फसाइएको भन्दै विचरा भन्नुभयो’, थापाले भने, वाइडबडीमा मन्त्री निदोर्ष, जग्गामा महासचिव ठगिनुभएन । यस्तो कुरा प्रधानमन्त्रीलाई कसरी थाहा भयो ?’ उनले कुनै पनि प्रकरणमा रिस उठ्यो भन्दैमा कसैले कसैलाई दोषी करार गर्न नपाइने भन्दै गगनलाई सम्झाए । ‘मैले निर्दोष भनेकामा कडा आपत्ति आएको छ’, प्रधानमन्त्रीले भने, ‘कुन अदालतले दोषी करार गरेको हो र ? कसैलाई रिस उठ्यो भन्दैमा दोषी करार गरिहाल्न मिल्छ र ?’ उनले कसैलाई रिस उठ्दैमा को हो त्यो प्रधानमन्त्री भन्न नमिल्ने भन्दै कटाक्ष गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us