यस्तो थियो केपी ओली र काँग्रेस सांसदबीचको ‘इन्ट्रेष्टिङ’ जुहारी !

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १८:२७ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– मंगलबारको संसद बैठकका सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्नुअघि विपक्षी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका शब्दलाई लिएर संसदमा केहीबेर हंगामा भयो ।

ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको जवाफ दिन उपयुक्त छैन, प्रश्नहरुको जवाफ दिन्छु’ भनेपछि काँग्रेस सांसदले आफ्नो स्थानबाट उठेर नाराबाजी गरे । आफूहरुलाई निम्छरो भनेर हेपिएको उनीहरुको भनाइ थियो । त्यस क्रममा प्रधानमन्त्री र काँग्रेस सांसदबीच केहीबेर दोहोरी चल्यो ।

काँग्रेस सांसदः संसदको मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाइयोस्
प्रधामनमन्त्रीः प्रश्न सोध्नेले पनि मर्यादा राख्नुपर्छ नि ।
काँग्रेस सांसदः होहल्ला, संसदको मर्यादा कायम गर ।
प्रधानमन्त्रीः मलाई सोधिएका प्रश्नमा कस्ता शब्द प्रयोग भएका छन् रेकर्डबाट सुनियोस्
काँग्रेस सांसदः हामी रेकर्ड सुन्न तयार छौं, रेकर्ड देखाए हुन्छ ।
प्रधनमन्त्रीः संसदमा प्रश्न सोध्ने हो, अपशब्द बोल्ने होइन ।
काँग्रेस सांसदः प्रधानमन्त्रीको भाषा संसदीय भएन, जवाफ दिने तरिका यो होइन
प्रधामनमन्त्रीः मैले संसदीय भाषा प्रयोग गरेको छु, जवाफ सोध्नेले मर्यादित हुनुपर्छ ।
काँग्रेस सांसदः संसद तपाईं (प्रधानमन्त्री) ले चलाउने होइन, सभामुखले हो । यदि प्रश्नकर्ताले गैरसंसदीय भाषा प्रयोग गरेको भए सभामुखले सचेत गराउने हो ।
प्रधानमन्त्रीः मैले सभामुखलाई होइन, तपाईंहरुलाई जवाफ दिने हो ।
काँग्रेस सांसदः नियमावलीको व्यवस्थाअनुसार संसद चल्नुपर्छ ।
प्रधानमन्त्रीः नियमावली तपाईंले मात्र होइन, मैले पनि पढेको छु । नियमावली तपाईंहरुले पनि पालना गर्नुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us