
काठमाण्डु, २४ वैशाख– मंगलबारको संसद बैठकका सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । त्यसअघि सत्तापक्षका तर्फबाट नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रम सही रहेको भन्दै पारित गर्न सांसदहरुलाई आग्रह गरे ।
प्रचण्डपछि काँग्रेसका प्रकाशमान सिंह, बालकृष्ण खाँड लगायतले नीति तथा कार्यक्रममाथि आलोचनात्मक भनाइ राखे । लगत्तै प्रधानमन्त्री केपी ओली नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा उभिए । उनले करिब डेढ घण्टा लगाएर प्रश्नहरुको जवाफ दिए । उनले राष्ट्रपतिले मेरो सरकार भन्दा उत्पन्न भएको तरंगदेखि आफ्नो सरकार बनेपछि विकास निर्माणले गति लिएको, भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम भएको, मुलुकमा शान्ति सुव्यवस्था कायम भएको, आर्थिक वृद्धि भएको, कृषि उत्पादन बढेको, गलत तवरले कब्जा गरिएका सरकारी सम्पत्ति फिर्ताको प्रक्रिया अघि बढेको, छिमेक तथा परराष्ट्र सम्बन्धमा सुधार आएको जस्ता धेरै फेरिस्त प्रस्तुत गरे । प्रधानमन्त्रीको जवाफपछि सभामुखले त्यसबारे चित्त नबुझेका विषयमा पुनः प्रश्न राख्न समय दिए । काँग्रेसका धेरै सांसदले बोल्न नाम टिपाए । नेमकिपा र राजपाका केही सांसदले पनि प्रधानमन्त्रीको जवाफ चित्त नबुझेको भन्द्र पुनः प्रश्न तेस्र्याए । खास गरी प्रधानमन्त्रीमाथि सुशासन कायम नभएको, विकास निर्माणका कामबारे प्रधानमन्त्रीले मिथ्या तथ्यांक दिएको, ३३ किलो सुन काण्ठका दोषीमाथि कारबाही गरिएको भनिए पनि सुन चाहिं गायब पारिएको, ललिता निवास प्रकरण तथा निर्मला पन्त हत्यामा संलग्नमाथि कारबाही गर्न नसकेको जस्ता विषयमा एकपछि अर्को प्रश्न वर्षाए ।
प्रश्नकै क्रममा प्रधानमन्त्रीलाई काँग्रेसका दुई सांसदका प्रश्नले बढी दुःख्यो । देवेन्द्रराज कँडेल र मीन विश्वकर्माको प्रश्न कडै थियो । दुवैको प्रश्नमा सुशासन कायम भएको भन्ने प्रधानमन्त्रीको दाबीमाथि ब्यंग्य थियो । कँडेलले प्रधानमन्त्रीको भ्रष्टा, दलाल र माफियाहरुसँग सम्बन्ध रहेको आरोप लगाए । मार्सीचामलदेखि मन्दिरको दर्शन गर्ने, भूमाफिया र मेडिकल माफियाबाघ घेरिएको आरोप लगाए । ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्निन भन्नुभएको छ’, कँडेलले भने, ‘बालुवाटारमा आउनेको लिष्ट जारी गरियो भने त्यसबाट थाहा हुन्छ कि प्रधानमन्त्रीले भ्रष्टचारीको अनुहार हेर्नुहुन्छ कि हेर्नुहुन्न । लिष्ट सार्वजानिक गर्नुस् त्यहाँ भुमाफिया छन् कि मेडिकल माफिया छन् कि सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गर्ने माफिया छन् ।’
कँडेलको प्रश्नले प्रधानमन्त्रीको कान राता भएका थिए । उनीलगत्तै बोलेका प्रश्न सोधेका विकले पनि भ्रष्टाचारसम्बन्धी नै प्रश्न सोधे । उनले ओलीलाई राष्ट्रपतिको सरकारका प्रधानमन्त्री भनेर सम्बोधन गरे । त्यसअिघ गगन थापाले पनि प्रधानमन्त्रीलाई राष्ट्रपतिको सरकारका प्रधानमन्त्री भन्दै प्रश्न गरेका थिए । विकले भने, ‘राष्ट्रपतिको सरकारमा प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्नुभएको छ । तर, २५ अर्बभन्दा माथिका ठेक्का प्रधानमन्त्री आफैंले दिने व्यवस्था बनाउनुभएको छ । प्रधानमन्त्री आफैंले भ्रष्टाचार गर्न हो कि अरुलाई दिन त्यसो गर्नुभएको हो ?’ सांसदका प्रश्नको पवाफ दिन पुनः ठाँटसँग रोष्ट्रममा उभिएका ओली सुरुमै शब्दमा चिप्लिए । उनले सुरुमै प्रश्नकर्तालाई धन्यवाद दिँदै भने– आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिबाहेक प्रश्नहरुको म जवाफ दिन चान्छु । आफूतिर लक्षित गरेर निम्छरा भनिएको भन्दै काँग्रेस सांसद विकले नियमापत्ति जनाए । त्यसपछिकाँग्रेस सांसदहरु कुर्सीबाट उठेर होहल्ला गर्न थाले । उनीहरुले निम्छरा भन्ने आपत्तिजनक शब्द रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महरासँग माग गरे । ओलीले जवाफ फर्काए–‘अमर्यादित शब्द प्रयोग गरेर प्रश्न सोकिएकाले यस्तो भनेको हुँ ।’ काँग्रेस सांसद थप आगो भए । उनीहरुले संसदको मर्यादा कायम गर भन्ने नारा लगाए । सभामुख महराले आफ्नो ध्यानकर्षण भएकाले बस्न आग्रह गरे । तर, काँग्रे सांसदले टेरेनन् । त्यसपछि उनले प्रधानमन्त्रीलाई बोल्न निर्देशन दिए । प्रधानमन्त्री होहल्लाबीच केही प्रश्नको मात्र जवाफ दिएर आफ्नै कुर्सीमा फर्किए ।