जन्मसिद्ध नागरिकताको विषयमा सर्वोच्चले दियो यस्तो आदेश

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई संविधान अनुसार नागरिकता दिलाउने गृहमन्त्रालयको परिपत्र रोक्न फेरी आदेश गरेको छ ।

गृहमन्त्रालयको परिपत्र विरूद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि पहिलो सुनुवाई गर्दै यसअघि पनि सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको थियो । पछि उक्त इजलासले त्यो रोक्का फुकाएको थियो ।

जन्मका आधारमा नागरिकता लिएका सन्तानले बाबु र आमा दुवै नेपाली भएमा वंशजको नागरिकता पाउने संविधानमा व्यवस्था छ ।

यो व्यवस्था कानुनमा भने छैन । सर्वोच्च अदालतकै विभिन्न आदेश र संविधानको कार्यान्वयन गर्नैकै लागि गृहले उक्त परिपत्र जारी गरेको देखिएको भन्दै आफैले लगाएको रोकलाई सर्वोच्चले फूकुवा गरेको थियो । फुकुवापछी धेरै नेपालीका सन्तानले त्यही परिपत्रका आधारमा नागरिकता लिन पाएका थिए ।

मंगलबार भने न्यायाधीश ईश्वर खतिवडा र सुष्मालता माथेमाको इजलासले फेरि उक्त सर्कुलर अनुसार कामकारबाही नगर्न फेरि आदेश दिएको छ ।

गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

‘संविधानको धारा ११ को उपधारा ३ बमोजिम जन्मका आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी निवेदन दिएमा वंशजका आधारमा नागरिकता प्रदान गर्न अपनाउनुपर्ने कार्य्विधि प्रक्रिया अपनाई, के बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको नागरिकता प्रदान गर्न सकिने निर्णय भएको छ,’ परिपत्रमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us