
काठमाण्डु, २४ वैशाख – नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुख कृष्णबहादुर महराले संसदको गरिमा कायम गर्न नसकेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा रिजालले सो आरोप लगाएका हुन् । कांग्रेस सांसदहरुको नाराबाजीकाबीच सभामुखले प्रधानमन्त्री ओलीलाई बोल्न समय दिएपछि उनले आपत्ति जनाएका हुन् ।
सांसद रिजालले भने, ‘यसरी संसद चल्दैन सभामुख महोदय, तपाईले संसदको गरिमा कायम गर्न सक्नुभएन । यसरी संविधानको पालना हुँदैन भन्ने आशंका व्यक्त गरेर हामीले संसोधन दर्ता गरायौँ । सभामुख महोदयसँग संसदको मर्यादालाई कायम गर्नुहुन्थ्यो भनेर आशा थियो । प्रधानमन्त्रीबाट कायम भएन । सभामुखले त्यो काम सक्नुभएन । यो भन्दा नराम्रो काम संसदीय अभ्यासमा हुन सक्दैन ।’
रिजालले बोल्दै गर्दा सभामुख महराले सोधे,‘माननीयज्यूले संसोधन प्रस्ताव फिर्ता लिनु भयो कि भएन ?’
महराको प्रश्न पछि फेरि रिजालले भने, ‘यसरी संसदको गरिमा तल नपार्नुस्, संसदको अभ्यासलाई कमजोर नबनाउनुस्, एउटा ब्यक्तिको प्रतिष्ठाको लागि संसद झुक्नुपर्ने, नागरिक झुक्नुपर्ने, यो लोकतन्त्र हैन, यो संविधान हैन, त्यही आशंका भएर संसोधन राखेको हो ।’
उनले यो विषयमा जनतालाई सचेत गराउने बिषयमा कांग्रेस हिँड्ने बताउँदै संशोधन प्रस्ताव फिर्ता लिएनन् । सभामुख महराले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत गर्याे ।
प्रधानमन्त्रीको जवाफ पछि सभामुख महराले नीति तथा कार्यक्रममाथि परेको संसोधन प्रस्तावको निर्णयार्थ प्रस्तुत गरेका थिए । सुरुमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको संसोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि उनले नेपाली कांग्रेसका सासद मिनेन्द्र रिजाललाई संसोधन प्रस्ताव फिर्ता लिने वा नलिने भन्ने जवाफका लागि समय दिएका थिए ।