
काठमाण्डु, २४ बैशाख – सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै टुंगो लाग्न सकेको छैन । स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो ।
सोही अनुसार स्वास्थ्यका १३ हजारभन्दा बढी कर्मचारीले समायोजनमा असन्तुष्टि जनाउँदै गुनासो दर्ता गराएका छन् । बैशाख ५ गतेभित्र दर्ता भएका गुनासालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिला कम्प्युटरमा अभिलेख (इन्ट्री) गर्ने काम गरेको छ ।
सामान्य प्रशासन हालसम्म १३ हजार गुनासोको अभिलेख गरिसकेको बताएको छ । अझै ५ सय जति गुनासो बाँकी रहेकाले आज मंगलबार सक्ने गरी काम अगाडि बढेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा सोझै दर्ता भएका गुनासासहित इमेल र भाइबारमा आएका गुनासालाई पनि एक–एक गर्दै अभिलेख गर्ने काम भइरहेको हो । गुनासो अभिलेख गर्नका लागि १९ जना कर्मचारी खटिएका छन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारले २७ हजार ३ सय २ जना कर्मचारीको समायोजन गरेको सूची सार्वजनिक गरेको थियो । तर, स्वास्थ्यको सूची सार्वजनिक भएलगत्तै धेरै त्रुटि आएपछि समयोजन भएको कर्मचारीमध्ये आधाभन्दा बढीले गुनासो दर्ता गराएका हुन् ।
सामान्य प्रशासनले अभिलेखिकरणको काम सकिएपछि सबै विवरण केलाएर सबैलाई मान्य हुने गरी समस्याको समाधान गर्ने जनाएको छ ।