हामी थोत्रा माल बेच्न आएका होइनौँः बाबुराम भट्टराई

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख – नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी गठन पृथ्वीनारायण शाहपछिको राष्ट्रिय एकता भएको दाबी गरेका छन् ।

आज काठमाण्डुमा आयोजित पार्टी घोषणासभामा उनले एकल जातीय राष्ट्रवादविरुद्ध संघीय ढाँचाको राष्ट्रिय एकता भएको दाबी गरे ।

उनले भने, ‘इतिहासमा ठूलाठूला आन्दोलन गरेका क्रान्तिकारीहरूको एकता भएको छ । झापा विद्रोह, पञ्चायती कालखण्ड, कांग्रेस, माओवादी आन्दोलनका प्रगतिशील, क्रान्तिकारीहरूको एकता धेरै देखियो । दोकान थापेर थोत्रा माल बेच्न आएका होइनौँ हामी ।’

बाबुरामले भने, ‘हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता आज फरक रुपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टी बनेको छ । अर्को कित्ता पश्चगामी रुपमा नेकपा र कांग्रेसहरु छन् । कम्युनिस्टहरु केही चमक भएपनि निभ्ने बेलाको बत्ती हो । हिजो स्टालिनो पाला देखि तानाशाही हुँदै कमाउनिस्ट भएका छन् ।’

समाजवादी पार्टीको गठन साना तिना सटर खोलेर व्यापार गर्न खोलिएको नभएको उल्लेख गर्दै भट्टराईले अर्को छलाङका लागि पार्टी गठन भएको बताए । उनले भने, ‘फेरि अर्को ठूलो छलाङ हान्दै छौँ । यो पार्टीको एकतामात्र होइन राष्ट्रिय एकीकरण हो । हिजो अढाई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले भूगोलको एकीककरण गरे यो पार्टीको एकता, भाषा, धर्म, जाति समुदाय र क्षेत्रलाई संघीय ढाँचामा एकता गर्ने राष्ट्रिय एकीकरणको अभियान हो ।’

उनले इतिहासमा एउटा अग्रगामी र अर्को पश्चगामी र यथास्थितिवादी भएको र नयाँ पार्टी क्रान्तिकारी भएको दाबी गरे ।

‘हिजोका क्रान्तिकारीहरु पश्चगामी बनेका छन् । हिजो जनयुद्ध गरेको एउटा कित्ता हिजो आतंककारी भन्ने हरुसँग जोडिएर पश्चगामी कित्तामा जोडिएको छ । अर्को कित्ता फरक रुपमा त्यही क्रान्तिकारी झण्डा उठान गर्दै छ । मधेस आन्दोलनको क्रान्तिकारी कित्ता, हिजो झापा संघर्षमा क्रान्तिकारी विरासत बोकेको एमाले भित्रको क्रान्तिकारी कित्ता अशोक राईहरु यो क्रान्तिकारी कित्तामा आउनु भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us